काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पछि सारेको छ। यसअघि असोज १६ गतेदेखि हुने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि सुरु हुने भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने जानकारी दिएका छन्।
पार्टीका अनुसार वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू जारी छन्।
देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले उद्घाटन मिति सारिएको कांग्रेसले जनाएको छ।
पार्टीले निर्वाचन समिति तथा विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा असहज परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको उद्घाटन दुई दिन पछि सार्ने निर्णय गरेको हो।





