काठमाडौं । लामो समय देखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक संसद् लैजाने तयारी अघि बढेको छ। संघीय संरचना अनुकूल कर्मचारी व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको विधेयकमा कर्मचारीको अनिवार्य अवकाश, पेन्सन, नियुक्ति तथा सेवा व्यवस्थापन सम्बन्धी विभिन्न नयाँ प्रावधान प्रस्ताव गरिएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको नेतृत्वमा विधेयकको मस्यौदा तयार पारिएको हो। विधेयकमा विशेषगरी ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने ‘३०–५५’ व्यवस्था प्रस्ताव गरिएको छ। यो प्रावधान कार्यान्वयनमा आएमा ठूलो संख्यामा कर्मचारी एकैपटक सेवाबाट बाहिरिने अवस्था बन्नेछ।
सामान्य प्रशासन मन्त्रालयका विवरण अनुसार प्रस्तावित व्यवस्थाबाट सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत देखि खरिदार, नायब सुब्बा तथा श्रेणीविहीन कर्मचारीसम्म प्रभावित हुनेछन्। यस अघि सार्वजनिक विवरणमा हजारौँ कर्मचारी अवकाशमा जान सक्ने उल्लेख गरिएको थियो।
विधेयकमा कर्मचारीको पेन्सन सम्बन्धी व्यवस्थामा पनि परिवर्तन प्रस्ताव गरिएको थियो। ३० वर्ष भन्दा बढी सेवा गरेबापत थप पेन्सन नदिने व्यवस्था मस्यौदामा राखिए पनि पछिल्लो प्रक्रियामा यस विषयमा फेरबदल भएको विवरण सार्वजनिक भएको छ।
यसैगरी, निजामती सेवामा विशिष्ट प्रकृतिको कामका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध नभए बाहिरबाट उच्च तहका कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। त्यस्तो नियुक्ति गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने प्रावधान राखिएको छ।
संघीय निजामती सेवा ऐन लामो समय देखि संसद् प्रक्रियामा पुग्न नसक्दा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी विभिन्न विषय जटिल बन्दै आएका छन्। सरकारले संघीय प्रशासनलाई व्यवस्थित गर्न विधेयकलाई प्राथमिकतामा राखेको जनाएको छ।
‘३०–५५’ व्यवस्था भने विधेयकको सबैभन्दा चासोको विषय बनेको छ। यसले एकातर्फ ठूलो संख्यामा पुराना कर्मचारी अवकाशमा जाने अवस्था सिर्जना गर्न सक्नेछ भने अर्को तर्फ नयाँ जनशक्तिका लागि अवसर खुल्ने सरकारको तर्क छ। यद्यपि, कर्मचारीको सेवा सुरक्षा, अवकाश र पेन्सनसँग जोडिएको उक्त व्यवस्था माथि प्रशासनिक तथा कानुनी बहससमेत हुँदै आएको छ।
अब विधेयक संसद् पुगेपछि प्रस्तावित व्यवस्था माथि सांसदहरू बीच छलफल हुनेछ। ‘३०–५५’ सहितका प्रावधानको अन्तिम स्वरूप भने संसदीय प्रक्रियाबाट टुंगो लाग्नेछ।




