समाचार

हरेक मन्त्रालयमा छुट्टै विशेषज्ञ कर्मचारी, अन्तर मन्त्रालय सरुवा रोकिने

काठमाडौं । सरकारले प्रत्येक मन्त्रालयका लागि छुट्टै विशेषज्ञ कर्मचारीको व्यवस्था गर्ने गरी संघीय निजामती सेवा विधेयक अघि बढाएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पारेको विधेयकमा मन्त्रालयगत क्याडर प्रणाली विकास गर्ने प्रस्ताव गरिएको हो। प्रस्ताव अनुसार कुनै कर्मचारी जुन मन्त्रालयमा नियुक्त हुन्छ, उसको सेवा अवधि त्यही मन्त्रालय अन्तर्गत रहनेछ। यससँगै एक मन्त्रालयबाट अर्को मन्त्रालयमा हुने सरुवा रोकिनेछ।

हाल परराष्ट्र मन्त्रालयमा मात्रै यस्तो विशेषज्ञ कर्मचारी प्रणाली रहेको बताइएको छ। परराष्ट्रका कर्मचारी अन्य मन्त्रालयमा सरुवा हुँदैनन्। अब यही प्रणालीलाई अन्य मन्त्रालयमा समेत विस्तार गर्ने सरकारको तयारी छ।

मन्त्रालयगत विशेषज्ञता विकास गरी सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको मन्त्री प्रतिभा रावलले बताएकी छन्। विधेयकमा यसको विस्तृत व्यवस्था नियमावली मार्फत तय गरिने उल्लेख छ।

संघीय निजामती सेवा विधेयक बुधबार संसदमा दर्ता गर्ने तयारी गरिएको छ।

सेयर गर्नुहोस् :