राजनीति

देश र पार्टी निर्माणको जिम्मेवारी लिएर एमालेमा फर्किएकी हुँ : विद्यादेवी भण्डारी

बुटवल । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफू व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाले नभई देश र पार्टी निर्माणको जिम्मेवारी लिएर पुनः सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्।

मंगलबार रुपन्देहीमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले कार्यकर्ताको आग्रह र आफूले विगतमा पार्टीमा गरेको योगदानको सम्मानलाई स्वीकार गर्दै पुनः जिम्मेवारी लिएको बताइन्।

उनले आफू सर्वोच्च पदमा पुगिसकेको भन्दै अब कुनै व्यक्तिगत पदको लोभ नरहेको स्पष्ट पारिन्। पार्टी निर्माण, संगठन सुदृढीकरण र देश विकासमा योगदान गर्ने उद्देश्यले आफू सक्रिय भएको उनको भनाइ थियो।

भण्डारीले एमाले र समग्र कम्युनिस्ट आन्दोलनले विगतका कमजोरीको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिइन्। एउटा निर्वाचनको परिणामबाट राजनीतिक शक्तिको सम्भावना समाप्त नहुने भन्दै गल्ती स्वीकार गरेर सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताइन्।

उनले २०५१ सालमा एमाले ठूलो दल बनेपछि पार्टी विभाजनका कारण कमजोर भएको, २०५६ मा पुनः अघि बढेको तथा २०७४ को निर्वाचनपछि भएको वाम एकताबाट ठूलो राजनीतिक शक्ति बनेको उदाहरण दिँदै आगामी दिनमा पनि वामपन्थी एकता आवश्यक रहेको बताइन्।

‘बलियो राजनीतिक शक्तिको आधार एकता नै हो,’ भण्डारीले भनिन्, ‘विगतका एकताबाट पाठ सिक्दै पार्टी र आन्दोलनलाई अघि बढाउनुपर्छ।’

सेयर गर्नुहोस् :