काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गते देखि देशभर अभियान सञ्चालन गर्ने भएको छ।
संघीय संसद्को अधिवेशन सकिए पछि रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने पार्टीले जनाएको छ।
रास्वपाका अनुसार अभियानका क्रममा स्थानीय तहको कामकारबाही, आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया तथा पार्टीका आगामी योजना बारे नागरिकलाई जानकारी गराइनेछ। साथै, वर्तमान सरकार गठन भएपछि संसद् र सरकार मार्फत भएका काम तथा नीतिगत पहलहरू बारे पनि नागरिकलाई जानकारी दिने तयारी छ।
पार्टी सहमहामन्त्री निशा डाँगीले अभियान चुनावी तयारीमा मात्र सीमित नभई नागरिकसँग प्रत्यक्ष संवाद र स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक प्रक्रिया बारे जानकारी गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको बताएकी छन्।




