उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछाने र छविराज (छविलाल) जोशीसम्बन्धी जिल्ला अदालत रुपन्देहीको आदेश र सम्बन्धित सबै मिसिल (फाइल) झिकाउन आदेश दिएको छ। न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले यो आदेश जारी गरेको हो। अब जिल्ला अदालतबाट फाइल आएका पछि मात्र रविले थुनाबाहिर रहँदै बिगो रकम तिरेर मुद्दा लड्न पाउने कि नपाउने भन्ने विषयमा सुनुवाइ हुनेछ।
आजको सुनुवाइमा जोशी पक्षका अधिवक्ता अपूर्व खतिवडाले वहस सुरू गरेका थिए। तर मिसिल अपूरो रहेको भन्दै इजलासले थप फाइल झिकाउने निर्णय गरेपछि रवि पक्षले बहस गर्ने मौका नपाउँदै पेसी सकिएको हो। अहिले अर्को मिति कहिले तोकिने भन्ने स्पष्ट छैन।
यसअघि पनि कात्तिक १३ गतेको पेसी स्थगित भएको थियो। न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुबैको मुद्दा एउटै प्रकृतिको भन्दै एकैसाथ राख्न आदेश दिएको थियो। रवि लगायतलाई सुप्रिम सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको छ। रविले त्यसको चौथाइ (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) बिगो दाखिला र बैंक जमानत सहित थुनामुक्त हुन माग गरेका छन्। तर जिल्ला अदालतले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरिसकेको छ।





