बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर रकम भुक्तानी गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष बर्क बहादुर रोकायासहित ६ जना विशेष अदालतबाट दोषी ठहर भएका छन्।
सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका नाममा योजना नै नभएको स्थानमा सम्झौता, अनुगमन र भुक्तानी प्रक्रिया अघि बढाई भ्रष्टाचार गरिएको अदालतको ठहर छ। दोषी ठहर हुनेमा पूर्वअध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, असिस्टेन्ट सब–इन्जिनियर र उपभोक्ता समिति अध्यक्ष छन्।
अदालतले सबै दोषीलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। प्रतिवादीहरूले ‘भुलवस’ कागजात बनेको दाबी गरे पनि अदालतले यसलाई योजनाबद्ध कार्य मानेको छ।अख्तियारले उनीहरुविरुद्ध जनही करिब १४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।





