इस्लामाबाद। अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता निष्कर्ष विहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ। यस्तो अवस्थामा पाकिस्तानले दुवै देशलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ।
पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार जारी गरेको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै पक्षलाई सकारात्मक ढङ्गले वार्तामा संलग्न रहन आग्रह गरे। उनले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि युद्धविरामको प्रतिबद्धता आवश्यक रहेको बताए।
इस्लामाबादमा आयोजित उक्त वार्तामा अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी थिए। अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए।
करिब २४ घण्टा लामो बहुपक्षीय छलफल पछि पनि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो। वार्तामा इरानको आणविक कार्यक्रम र होर्मुज जलडमरू मध्यको नियन्त्रणजस्ता संवेदनशील विषयहरू मुख्य विवादका रूपमा उठेका थिए।
वार्ता निष्कर्षमा नपुगेपछि अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादबाट फर्किएका छन्। उनले केही विषयमा प्रगति भए पनि औपचारिक सहमति हुन नसकेको बताएका छन्।





