काठमाडौं। भूपदेव शाह लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री चयन गरिएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका हुन्।
शाह यस अघि पार्टीका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए। उनी बालेन्द्र शाह (बालेन) का निकट सहयोगीका रूपमा चिनिन्छन्। बालेनले काठमाडौं महानगरपालिकाको मेयर पद छाडेर रास्वपा प्रवेश गर्दा शाह पनि सचिवालय टोलीमा संलग्न थिए र प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका थिए।
राजनीतिक यात्रामा शाहले पछिल्लो प्रतिनिधिसभा निर्वाचन (फागुन २१) मा अछाम जिल्ला क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए तर निर्वाचनमा भने सफलता हासिल गर्न सकेनन्।





