काठमाडौ। रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको निर्णय विरुद्ध परेको रिट माथि आज सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा तोकिएको छ।
महान्यायाधिवक्ता कार्यालय ले गत पुस ३० गते लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा दायर मुद्दाहरूमा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप हटाउन सकिने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल तथा युवराज सफलले रिट दायर गरेका हुन्।
यस अघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनील कुमार पोखरेलको इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश दिएको थियो।





