समाचार

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यले आज शपथ लिँदै

काठमाडौ। प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार बिहीबार अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा शपथग्रहण कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ।

शपथ ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराउनेछन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक विभिन्न भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।

नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था गरेको छ।

सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिरसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै, औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।

सेयर गर्नुहोस् :