काठमाडौं। स्वास्थ्य बीमा बोर्डले अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन तथा बीमालेख नवीकरण गर्न सकिने व्यवस्था सुरु गरेको छ। नयाँ आबद्धता, नवीकरण र व्यक्तिगत विवरण अद्यावधिक लगायतका काम अब दर्ता सहयोगीको सहयोग बिनै अनलाइनबाट गर्न सकिने भएको हो।
बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार शुक्रबारदेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको हो। सेवाग्राहीले आफैंले आवश्यक विवरण भरेर स्वास्थ्य बीमामा आबद्ध हुन तथा बीमालेख नवीकरण गर्न सक्नेछन्।
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ अनुसार सेवा सुरु गरिएको बोर्डले जनाएको छ। अनलाइन सेवाको भुक्तानीका लागि इसेवा, खल्ती र कनेक्ट आईपीएस प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
नयाँ प्रणालीबाट व्यक्तिले आफैं वा दर्ता सहयोगी मार्फत परिवारका सदस्यलाई समेत डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध गर्न र बीमालेख नवीकरण गर्न सक्नेछन्।
बोर्डका अनुसार हाल स्वास्थ्य बीमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ जना आबद्ध छन्। पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५०० रुपैयाँ योगदानमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध हुने व्यवस्था छ।
परिवारमा थप हुने प्रत्येक सदस्यका लागि ७०० रुपैयाँका दरले योगदान रकम थपिने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। यस्तै, आठ प्रकारका कडा रोगका लागि थप १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध हुने बोर्डले जनाएको छ।




