काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नेतृत्व नछाड्ने स्पष्ट पार्दै नेतृत्व परिवर्तनको माग गर्नेहरूप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला आफू नेतृत्वबाट भागेर नहिँड्ने बताए। पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्नु अनुशासनहीनता भएको उनको भनाइ छ।
ओलीले पार्टी भित्र अराजकता र मनपरीतन्त्र स्वीकार्य नहुने चेतावनी दिए। पार्टीमा बसेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई पार्टीको नीति, विधि र अनुशासन पालना गर्न उनले आग्रह गरे।
‘पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ। अर्को पार्टीमा जाने हो भने त्यहीँ गए हुन्छ, चुप लागेर घरमा बस्ने भए पनि बसे हुन्छ,’ ओलीले भने, ‘तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ।’
उनले आफू अर्को महाधिवेशनसम्म पार्टी नेतृत्व गर्न कार्यकर्ताबाट अत्यधिक मतसहित निर्वाचित भएको स्मरण गर्दै बीचमै नेतृत्व छाड्ने प्रश्न नै नरहेको बताए। पार्टीलाई थप एकताबद्ध र अनुशासित बनाएर अघि बढाउने उनको भनाइ छ।
ओलीले विधि–विधानविपरीत गतिविधि गर्नेहरू माथि आवश्यक कारबाही गरिने चेतावनी समेत दिएका छन्। पछिल्लो समय एमाले भित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला ओलीको यस्तो अभिव्यक्ति आएको हो।




