समाचार

सहकारी ठगी आरोप लागेका तामाङ बागमतीमा मन्त्री नियुक्त

काठमाडौं। बागमती प्रदेश सरकारमा सहकारी ठगीको आरोप खेपिरहेका एमालेका समानुपातिक सांसद ज्ञानबहादुर तामाङ मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा उनलाई हालका लागि बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको हो।

तामाङले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनको विभागीय जिम्मेवारी पछि तोकिने जनाइएको छ।

तामाङ माथि नेसनल नमोबुद्ध सहकारीमा दुई अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ। सहकारीलाई बागमती प्रदेश सरकारले २०८१ पुस २९ गते समस्याग्रस्त घोषणा गरेको थियो।

सहकारीको अध्यक्ष हुँदा बचतकर्ताबाट रकम उठाएर नुवाकोटको लिखु गाउँपालिका–९ मा ४४ रोपनी जग्गा खरिद गरेको र उक्त जग्गा धितो राखेर सहकारीको नाममा ऋण लिएको आरोप समेत तामाङ माथि छ। सहकारीका ९६४ सदस्यले एक अर्ब आठ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रकम मागदाबी गरेका छन्।

सेयर गर्नुहोस् :