राजनीति

एमाले विभाजनको संकेत गर्दै ओलीले दिए नयाँ पार्टीको विकल्प

काठमाडौं। नेकपा (एमाले) मा चर्किएको आन्तरिक शक्ति संघर्षबीच अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको सम्भावनाबारे निकट नेताहरूसँग छलफल गरेको दाबी गरिएको छ।

स्रोतका अनुसार ओलीले एमालेको नाम र चुनाव चिह्न ‘सूर्य’ आफूहरूसँग नरहन सक्ने अवस्था आए नयाँ ढंगबाट बलियो पार्टी निर्माण गर्नुपर्ने धारणा राखेका छन्। पछिल्लो समय पार्टी पुनर्गठनको विषय उठिरहेका बेला ओलीमाथि निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिन र नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने आवाजसमेत उठेको समाचारमा उल्लेख छ।

ओलीले आफू निकट नेताहरूसँग विभिन्न विकल्प बारे छलफल गरिरहेको बताइएको छ। ती विकल्पमा पार्टी पुनर्गठनको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्ने, प्रचण्ड नेतृत्वको नेकपासँग एकता गर्ने तथा राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषय रहेको स्रोतको दाबी छ।

यता एमाले सचिव भानुभक्त ढकालले भने अध्यक्ष हटाउने विषयमा पार्टीका औपचारिक फोरममा कुनै छलफल नभएको बताएका छन्। उनका अनुसार पुनर्गठनसम्बन्धी विषय सचिवालय हुँदै केन्द्रीय कमिटीबाट टुंगो लगाइनेछ र एमाले एकढिक्का रहनेछ।

यसैबीच, पार्टी भित्रको शक्ति संघर्षका कारण ओलीले सचिवालयभन्दा माथि ‘हाई कमान्ड’ सञ्चालन गरेको नेताहरूले आरोप लगाएको समाचारमा उल्लेख छ।

सेयर गर्नुहोस् :