समाचार

केन्द्रीय सदस्यले घण्टीमा भोट हाले, तीनलाई कारबाही गर्ने: प्रचण्ड

काठमाडौ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्यहरूले घण्टीमा भोट हालेको रिपोर्ट आएको बताएका छन्। बिहीबार जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उनले पार्टी पुनर्गठनको प्रक्रिया यहीँबाट सुरु हुने स्पष्ट पारेका छन्।

प्रचण्डले भने, “झन्डै ५० प्रतिशतले घण्टीमा भोट हालेको रिपोर्ट छ। सबभन्दा बढी जनवर्गीय सङ्गठनका केन्द्रीय नेताहरू यसमा समावेश छन्। कोले भोट हालेन र कोले घण्टीमा हाले, त्यसको रिपोर्ट तपाईँहरूले पेश गर्नुपर्छ। प्रमाण सहितका तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी व्यवस्थित हुन सक्दैन।”

उनले चुनावी समीक्षा रिपोर्टको प्रक्रिया जारी रहेको बताए र निर्वाचन पछिका सुझाव र आलोचना पार्टीको सचिवालय वा आधिकारिक संस्थागत निर्णय स्थानमा पेश गरिने जानकारी दिए।

त्यसैगरी, प्रचण्डले चुनाव परिणामको विश्लेषण गर्दै भने, “पैसा टन्नै खर्च गरेसी जितिन्छ भने विनोद चौधरी ले जित्नुपर्थ्यो तर उनले पनि हार्‍या छन्। सङ्गठन व्यवस्थित बनाएर, पत्रपत्रिका र प्रचार राम्रो गरे पनि जनताको चित्त बुझाएर मात्र सफलता पाईन्छ। भक्तपुरमा नारायणमान बिजुक्छेले हार्नु यसको उदाहरण हो।”

सेयर गर्नुहोस् :