काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ नजिक (१८२ सिट) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन तर्फ अघि बढ्दै केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
पार्टीले चैत १२ गते अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएको छ। प्रवक्ता मनिष झाले बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य कार्यसूची रहेको जानकारी दिए।
निर्वाचन अघि नै रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको थियो। त्यही दिन संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम पनि तय गरेको छ।
रास्वपा विधानको धारा ६६ (८) मा संसदीय दलको नेता छनोटका लागि निर्वाचनको व्यवस्था भए पनि यसपटक बालेन शाह, सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालबीच आपसी सहमतिमा मतदान नगरी नै संसदीय दलको नेता घोषणा गर्ने तयारी गरेको छ।
साथै, बैठकमा विद्यमान प्रावधान संशोधन गर्दै बालेन शाहलाई संसदीय दलको नेताका रूपमा प्रस्ताव गर्ने तयारी समेत रहेको स्रोतले जनाएको छ।





