समाचार

शीतल निवासमा आज प्रधानमन्त्री बालेन शाहको शपथ यसरी हुदै

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसोका लागि शपथ समारोहको विस्तृत कार्यतालिका बनाइएको छ। त्यसअघि बालेनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

शपथ ग्रहण कार्यक्रम अपराह्न १२ः३४ को शुभ साइतमा हुने तय भएको छ। निर्धारित तालिकाअनुसार राष्ट्रपति सवा १२ बजे मञ्चमा पुग्नेछन् भने १२ः१५ देखि १२ः३३ बजेसम्म नियुक्तिसम्बन्धी औपचारिक जानकारी गराइनेछ। त्यसपछि राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्री शपथका लागि माइकअगाडि उभिने कार्यक्रम छ।

समारोहलाई सांस्कृतिक रूपमा विशेष बनाउने तयारी पनि गरिएको छ। बालेन दौरा–सुरुवाल र भादगाउँले टोपीमा उपस्थित हुनेछन्। शपथका क्रममा बटुकद्वारा स्वस्तिवाचन, बौद्ध भिक्षुद्वारा मंगलवाचन तथा शंखध्वनि गरिनेछ। साथै नेवारी, मैथली, किराँतलगायत विभिन्न जातीय संस्कृतिको झल्को दिने कलात्मक प्रस्तुति पनि रहनेछ।

शपथ समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सेयर गर्नुहोस् :