काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ । घरेलु मैदानमा जारी शृङ्खलाको अन्तिम खेल भएकाले नेपाल सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ ।
अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलमा रहेको छ । त्यस खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.३ ओभरमै केवल एक विकेट गुमाएर पूरा गरेको थियो । त्यसैले आजको खेलमा पनि नेपाल सोही लय कायम राख्ने प्रयासमा हुनेछ ।
अमेरिका भने अघिल्लो हारको बदला लिने योजनासहित मैदान उत्रिदैछ । अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने नेपाल पाँचौँ स्थानमा रहेको छ । अमेरिकाले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ । नेपालले भने १० खेलमा जित हासिल गर्दा १५ खेलमा हार बेहोरेको छ । नेपाल हाल २२ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
विश्वकप छनोटको सम्भावना कायम राख्न तथा एकदिवसीय मान्यता जोगाउन नेपाललाई अबका अधिकांश खेल जित्नुपर्ने दबाब छ । त्यसैले आजको खेल नेपालका लागि ‘गर या मर’ को अवस्थाजस्तै बनेको छ । घरेलु समर्थकको साथ र पछिल्लो प्रदर्शनले नेपाली टोलीलाई थप आत्मविश्वास दिएको छ ।
घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म चार खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने उत्कृष्ट पुनरागमन गर्दै स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।






