खेलकुद

नेपालको दोस्रो ठूलो ओडिआई स्कोर, अमेरिकासामु ३१८ रनको चुनौती

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर अमेरिकाले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१७ रन बनाएको हो । यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) इतिहासकै दोस्रो ठूलो स्कोर हो ।

यस अघि नेपालले २०२५ जुनमा स्कटल्यान्ड विरुद्ध ३२३ रन बनाउँदै सर्वाधिक स्कोरको कीर्तिमान कायम गरेको थियो ।

नेपालका लागि युवा ब्याटर इशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे । अमेरिका विरुद्ध कै पहिलो खेलबाट ओडिआईमा डेब्यू गरेका इशानले जारी सिरिजमा दोस्रो अर्धशतक पूरा गरेका हुन् ।

दिपेन्द्र सिंह ऐरीले अविजित ५९ रनको महत्वपूर्ण योगदान दिए । उनले ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ४६ रन जोड्दा ओपनर आशिफ शेखले ४३ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले २९ रनको योगदान दिए ।

त्यस्तै, गुल्सन झाले १५ रन बनाए भने आरिफ शेख १८ रनमा अविजित रहे ।

बलिङतर्फ अमेरिकाका शुभम रन्जणेले ३ विकेट लिए । रशिल उगारकर र मिलिन्द कुमारले समान १/१ विकेट हात पारे ।

यस अघि भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । जारी लिग२ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा सुधार गरेको छ । स्कटल्यान्डमाथिको जितसँगै नेपाल सातौँ स्थानबाट उक्लिएर पाँचौँ स्थानमा पुगेको छ ।

विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले अबका बाँकी खेल जित्नुपर्ने दबाब छ । साथै, एकदिवसीय मान्यता जोगाउन नेपाल शीर्ष ६ भित्र रहन आवश्यक छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :