खेलकुद

राजस्थान प्लेअफमा प्रवेशसँगै आईपीएलको समिकरण पूरा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समिकरण पूरा भएको छ। आइतबार सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेसँगै पञ्जाब किंग्स प्रतियोगिताबाट बाहिरिएको छ।

वांखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन बनायो। टोलीका लागि ध्रुव जुरेलले ३८ रन, यशस्वी जैसवालले २७ रन र दसुन सनाकाले २९ रनको योगदान दिए। जोफ्रा आर्चरले ३२ रनको महत्वपूर्ण इनिङ्स खेले भने रविचन्द्रन अश्विन १९ रनमा अविजित रहे।

२ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ६० रन बनाए भने विल ज्याकले ३३ र हार्दिक पाण्ड्याले ३४ रनको योगदान दिए।

यो नतिजासँगै आरसीबी र गुजरात टाइटन्स शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन्। हैदराबाद र राजस्थान रोयल्सबीच एलिमिनेटर खेल हुने छ। उक्त खेलको विजेता टोलीले क्वालिफायर-१ मा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

यससँगै पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स प्रतियोगिताबाट बाहिरिएका छन्।

सेयर गर्नुहोस् :