काठमाडौँ। नापी विभागले जग्गासम्बन्धी सेवा प्रवाहलाई डिजिटल माध्यमबाट थप सहज बनाउन ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो।
विभागका अनुसार एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध उक्त एपमार्फत नागरिकले घर मै बसेर विभिन्न जग्गा सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्। एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।
‘मेरोकित्ता’ एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकन सम्बन्धी सेवाका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्राप्त हुने ओटीपी प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदनको अवस्था नियमित रूपमा अनुगमन गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
यसैगरी, ई-सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व भुक्तानी गर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक शुल्क समेत अनलाइन मार्फत बुझाउन सकिने व्यवस्था मिलाइएको छ।
एप मार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूको सम्पर्क विवरणसमेत प्राप्त गर्न सकिने विभागले जनाएको छ। विभागका अनुसार ‘मेरोकित्ता’ सेवा मोबाइल एप सँगै वेब संस्करणमा पनि उपलब्ध हुनेछ।
एप सार्वजनिक कार्यक्रममा मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्। उनले जग्गा सम्बन्धी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।
डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाहरूलाई थप विस्तार गर्दै लैजाने सरकारको प्रतिबद्धता रहेको समेत मन्त्री रावलले बताइन्।





