प्रविधि

नेपालको पहिलो टियर-४ हाइपरस्केल डाटा सेन्टर निर्माण घोषणा

काठमाडौं। नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित ‘बिचुटेन डाटा भल्ट’ (BDV) ले देशकै पहिलो टियर–४ हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। कम्पनीले काठमाडौं र वीरगञ्जमा केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेको हो। प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजनालाई सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

यो परियोजनामा नेपाली उद्यमी नवीन अग्रवाल, मिन अग्रवाल, अनुज कायल, विशाल कुमार जातिया र शरद गोयलको नेतृत्व रहने बताइएको छ। कम्पनीका अनुसार यो नेपालकै पहिलो टियर–४ प्रमाणित डाटा सेन्टर हुनेछ, जसले वार्षिक ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्नेछ। बैंकिङ, दूरसञ्चार तथा संवेदनशील डिजिटल सेवाका लागि उच्च विश्वसनीयता उपलब्ध गराउने दाबी गरिएको छ।

कम्पनीले गुगल क्लाउड, AMD, माइक्रोन र VVDN टेक्नोलोजिजसँग प्राविधिक सहकार्य गरेको जनाएको छ। परियोजनाले नेपालमै डाटा सुरक्षित राख्ने ‘इन–कन्ट्री डाटा रेसिडेन्सी’ अवधारणालाई प्रवर्द्धन गर्दै डिजिटल तथा एआई सार्वभौमिकता सुदृढ गर्ने लक्ष्य राखेको छ। साथै, जलविद्युत् ऊर्जामा आधारित वातावरणमैत्री पूर्वाधार निर्माण गरिने र सूचना प्रविधि तथा इन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :