काठमाडौं। सर्वोच्च अदालतको नयाँ भवनमा १५ दिनको अन्तरालमै दुईपटक आगलागी भएको छ। दुवै घटनामा प्रारम्भिक अनुसन्धानले विद्युत् सर्टलाई सम्भावित कारण देखाएको छ।
भदौ १७ गते राति अदालतको अभिलेख शाखासँग जोडिएको कोठामा आगलागी भएको थियो। राति करिब १ बजे विद्युत् पावर सकेटबाट सर्ट भएर आगो लागेको प्रारम्भिक निष्कर्ष थियो। सुरक्षा गार्डले धुवाँ र आगोको गन्ध थाहा पाएपछि तत्काल खबर गरेपछि आगो नियन्त्रणमा लिइएको थियो।
त्यसको करिब दुई सातापछि भदौ ३१ गते बिहान पुनः सोही भवनमा आगलागी भयो। दोस्रो घटनामा भवनका तीन फाँट प्रभावित भएका छन्। आगलागीबाट तीनवटा कम्प्युटर, प्रिन्टर, फर्निचर तथा केही सामग्रीमा क्षति पुगेको बताइएको छ। महत्वपूर्ण कागजात भने सुरक्षित रहेको सर्वोच्च प्रशासनले जनाएको छ।
लगातार दुईपटक आगलागी भएपछि अदालत प्रशासनले भवनको विद्युतीय प्रणाली र सुरक्षा व्यवस्थाबारे थप छानबिन थालेको छ।




