काठमाडौ। सरकारले पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनोट प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै विभिन्न देशका लागि नेपालको राजदूत तथा स्थायी प्रतिनिधि पदमा आवेदन आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत पदमा आवेदन माग गरिएको छ ।
राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार आवेदन दिन इच्छुक व्यक्तिले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा अनुभव, अङ्ग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्र भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी आवेदक नेपाली नागरिक हुनुपर्ने, कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने तथा कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति नलिएको हुनुपर्ने शर्त पनि राखिएको छ । सरकारी सेवाबाट बर्खास्त भएको वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित व्यक्तिले आवेदन दिन नपाउने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले न्यूनतम योग्यताका अतिरिक्त अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक विज्ञान, कानुन, अर्थशास्त्र वा सार्वजनिक प्रशासन जस्ता विषयमा स्नातकोत्तर तहको शैक्षिक योग्यता भएका उम्मेदवारलाई प्राथमिकता दिइने जनाएको छ । साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्तासम्बन्धी विशेष तालिम वा प्रमाणपत्र प्राप्त व्यक्तिलाई समेत प्राथमिकता दिइनेछ।
इच्छुक आवेदकले परराष्ट्र मन्त्रालयको वेबसाइट https://mofa.gov.np/pages/applynow/ मा गएर फारम भरी आवेदन दिन सक्नेछन् । आवेदनसँगै उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, व्यावसायिक अनुभव, प्रकाशन तथा सार्वजनिक सेवा सम्बन्धी विवरण समेटिएको बायोडाटा वा सीभी अपलोड गर्नुपर्नेछ ।
मन्त्रालयका अनुसार आगामी जुन ५ साँझ ५ बजेसम्म प्राप्त आवेदनलाई मात्रै छनोट प्रक्रियामा समावेश गरिनेछ ।





