काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी घटनामा विभिन्न राजनीतिक व्यक्तित्व, सांसद, अभियन्ता तथा कन्टेन्ट क्रियटरहरूको भूमिका बारे सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री सुधन गुरुङ लगायतले आन्दोलन भड्काउन भूमिका खेले नखेलेको विषयमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की तथा डा. तोषिमा कार्की माथि पनि अनुसन्धान गर्न भनिएको छ। साथै सांसद राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव र आशिका तामाङमाथि पनि छानबिन गर्नुपर्ने आयोगको भनाइ छ।
त्यस्तै अभियन्ता, कन्टेन्ट क्रियटर तथा विभिन्न पेशा व्यवसायमा संलग्न हेमराज थापा, विमल पन्त, खेमराज साउद, अमनप्रताप अधिकारी, विवेक थपलिया, रक्षा बम, सिसन बानियाँ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहा र भिक्टर पौडेल माथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ।
प्रतिवेदनमा अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरू सुनुवार, भीम उपाध्यक्ष, रविकिरण हमाल, निश्चल बस्नेत, पशुपति खड्का, ऊर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह तथा निशान मैनालीको नाम पनि उल्लेख गरिएको छ।
आयोगले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल, सार्वजनिक अभिव्यक्ति तथा प्रकाशित सामग्रीमार्फत प्रदर्शनकारीलाई उत्तेजित पार्ने वा सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुर्याउने भूमिका रहे नरहेको विषयमा विस्तृत अनुसन्धान गर्न आग्रह गरेको छ।
प्रतिवेदनमा भनिएको छ, सम्बन्धित व्यक्तिहरूको अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेका विवरणका आधारमा उनीहरूको संलग्नता रहे नरहेको निष्पक्ष अनुसन्धान गरिनु पर्नेछ। साथै स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै दोषी देखिए कानुन बमोजिम कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ।





