काठमाडौं। सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।
यस अघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को मागबमोजिम काठमाडौं जिल्ला अदालतले गत चैत २२ र २४ गते देउवा दम्पतीलाई पक्राउ गरी नेपाल ल्याउन अनुमति दिएको थियो।
तर अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले पर्याप्त प्रमाण नपुगेको भन्दै रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको जनाइएको छ। त्यसपछि देउवा दम्पतीले पक्राउ पुर्जी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाएर गत जेठ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यस अघि न्यायाधीश मेघराज पोखरेल को इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो।





