समाचार

ग्यालेक्सी फोरके टेलिभिजनलाई सामान लैजान काठमाडौं महानगरद्वारा १५ दिने सूचना

काठमाडौं। काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क लाई १५ दिनभित्र घर खाली गरी बाँकी घरभाडा तिर्न निर्देशन दिएको छ । महानगरपालिकाले टेलिभिजन संस्था ग्यालेक्सी फोरके टेलिभिजन का अध्यक्ष गितेन्द्र बाबु राई लाई लक्षित गर्दै यस्तो सूचना जारी गरेको हो ।

काठमाडौं-३ निवासी मृगेन्द्र प्रसाद मिश्रसहितले भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाउँ भन्दै दिएको निवेदन माथि महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते फैसला सुनाएको थियो । समितिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट बहाल रकम र बहाल कर असुल गरी घरजग्गा खाली गराउने निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिना भित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेश पछि महानगरपालिकाको टोली २०८२ कात्तिक १४ गते डोर खटिएर निर्णय कार्यान्वयनमा गएको थियो ।

महानगरका अनुसार निर्णय कार्यान्वयन भएको छ महिना बितिसक्दा पनि घरधनीलाई बुझाउनुपर्ने रकम पूर्ण रूपमा नतिरे पछि घरधनी मिश्रले पुनः वैशाख २१ गते निवेदन दिएका थिए । त्यसपछि महानगरपालिकाले गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र बाँकी बहाल रकम बुझाई आफ्नो सरसामान लैजान अन्तिम सूचना जारी गरेको जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :