समाचार

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। जिल्ला अदालत पर्साले वीरगंजका महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर सिंहसहित चार जनाविरुद्ध अनुपस्थितमै मुद्दा दायर गरेको थियो । सोही मुद्दाको अनुसन्धानका लागि अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।

अदालतका अनुसार अर्काकी छोरीको नाममा नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएको आरोपमा लिखत सम्बन्धी कसुरको मुद्दा दायर गरिएको हो । मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत किर्ते कागजातसम्बन्धी दफा २७६ को उपदफा १, २ र ३ (ग) अनुसार सात वर्ष सम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।

यस प्रकरणमा मेयर सिंहसँगै उनकी दोस्रो भनिएकी श्रीमती, उनकी छोरी तथा पञ्जीकरण अधिकारीलाई पनि प्रतिवादी बनाइएको अदालतले जनाएको छ । उनीहरू विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंह विरुद्ध झुठा विवरण पेश गरी नागरिकता बनाएको तथा लिखत सम्बन्धी कसुरमा दुईवटा मुद्दा दायर गरेको हो ।

मेयर सिंहले किर्ते गरेर नागरिकता बनाइदिएको विषय २०८० पुसमा पत्रकार जियालाल साहले सिधाकुरा मार्फत सार्वजनिक गरेका थिए । त्यसपछि विषयले व्यापक चर्चा पाए पनि लामो समयसम्म मुद्दा दर्ता भएको थिएन । पछि मेयर सिंहले नै पत्रकार साह विरुद्ध लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेका थिए ।

सरकारी वकिल कार्यालयका अनुसार छपकैया निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सा मा सरकारी कागजात र नागरिकता किर्तेसम्बन्धी उजुरी दिएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :