समाज

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती

काठमाडौं। सरकारले निजी अस्पताल मार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवामा कटौती गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवा बाहेक अन्य सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको हो।

स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थालाई पत्र पठाउँदै आगामी जेठ १६ गते देखि निर्णय लागू हुने जानकारी गराएको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार बढ्दो वित्तीय संकटका कारण अर्को निर्णय नभएसम्म सेवा स्थगित गरिएको हो।

सोमबार बसेको बोर्ड बैठकले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपलब्ध गराइँदै आएका गैरआकस्मिक बीमा सेवा रोक्ने निर्णय गरेको जनाएको छ।

बोर्डद्वारा जारी पत्रमा भनिएको छ, “स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा मिति २०८३ साल जेठ १६ गते देखि लागू हुने गरी स्थगित गर्ने निर्णय गरिएको छ।”

सरकारको निर्णयसँगै स्वास्थ्य बीमा सेवामा निर्भर हजारौँ सेवाग्राही प्रत्यक्ष प्रभावित हुने भएका छन्। विशेषगरी निजी अस्पतालबाट नियमित उपचार, परीक्षण तथा औषधि सेवा लिँदै आएका बिरामीलाई समस्या पर्ने देखिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :